महिला, पुरुष या तेस्रोलिङ्गी जुनसुकै समुदायका निम्ति सूचना आफैँमा शक्ति हो, आत्मविश्वास हो । कुनै पनि विषयमा आफू जानकार हुनु र नहुनुबीचको भिन्नता ठूलो हुन्छ । तर, सूचनाको यो संसार महिलाका निम्ति अझै पनि दुरुह छ । नागरिक सचेतना र सशक्तीकरणका लागि सूचना अनिवार्य र महत्वपूर्ण मानिन्छ । आफ्नो देशका सार्वजनिक निकायमा कहाँ के भइरहेको छ भनेर जानकारी राख्नका लागि नेपाली नागरिकले कानुनी रूपमै सूचनाको अधिकार प्राप्त गरेका छन् । तर, मुलुकको आधा जनसङ्ख्यामध्ये अधिकांश महिला तथा तेश्रो लिङ्गीहरु यो कानुनी अधिकारको जानकारीबाट वञ्चित छन् । यी बर्गलाई केन्द्रित गरेर सूचनाको हकका अभियान त्यति भएका छैनन् । लैंगिक पृष्ठभूमिका कारण महिला स्वयम्मा पनि सूचना भनेको त पुरुषको पथमिकता र आवश्यकता हो, घरका पुरुष सदस्यले थाहा पाए त भइहाल्यो नि भन्ने सोच विद्यमान छ ।
नेपालमा सूचनाको हकसम्बन्धी ऐन ०६४ देखि लागू भएको छ । निकै लामो सङ्घर्षपछि प्राप्त सूचनाको हकसम्बन्धी कानुन निर्माण भएपछि जनताको सुसूचित हुने अधिकार सुनिश्चित हुने अपेक्षा गरिएअनुरूप बिस्तारै–बिस्तारै यो अधिकारबारे जनमानसमा जानकारी बढ्दै गएको छ । यद्यपि महिलामा भने सूचनाको हकसम्बन्धी कानुनको प्रयोगबारे जानकारी कम छ । सूचनाको हकको प्रयोगले सुशासन, पारदर्शिता र जवाफदेहितालाई बाध्यकारी ढङ्गले प्रोत्साहित गर्दछ । आफू जाने गन्तव्य, आफूले गर्ने काम, प्राप्त गर्ने सेवा–सुविधा, आइपर्न सक्ने कठिनाइबारे जानकारी पाए महिलाले वैदेशिक रोजगारीलगायतका क्षेत्रमा भोग्नुपरेको कठिनाइ कम हुन्छ । महिला भएकै कारणले महिला दुःखी भएका होइनन्, सशक्त नभएकाले दुःखी, पीडित बन्ने अवस्थाको सिर्जना भएको हो । सुसूचित हुनु या आफ्नो लागि आवश्यक विभिन्न विषयबारे जानकार हुनु सशक्तीकरणको महत्वपूर्ण सूचक हो । कुनै पनि नेपाली नागरिकलाई सूचना माग्ने अधिकार छ । सूचनाको हक भनेको सार्वजनिक निकाय तथा निकायमा रहेका जिम्मेवार व्यक्तिबाट भए–गरेका कामको व्यक्तिगत वा सार्वजनिक महत्वको सूचना माग्ने र पाउने अधिकार हो । कुनै पनि विषयमा जानकारी पाएपछि मात्रै व्यक्तिले सम्बन्धित विषयमा आफ्नो भूमिका निर्वाह गर्न सक्छ । त्यसैले सूचनाको हकलाई नागरिकको नैसर्गिक अधिकारका रूपमा लिइन्छ ।
नेपाली नागरिकले सरकारी निकायबाट मात्र होइन, कुनै पनि सार्वजनिक निकायबाट सार्वजनिक सरोकारका सूचनाका साथै आफ्नो सरोकारका सूचना माग्न सक्छन् । ती सूचनाका अभिलेख जाँच्न र प्रतिलिपि लिन सक्छन् । सूचनाको हकसम्बन्धी कानुन लागू भएपछि अब कुनै पनि सरकारी र सार्वजनिक निकायको काम गोप्य राख्नु या रहनु उचित मानिँदैन । यद्यपि हामीकहाँ कुनै महत्वपूर्ण सार्वजनिक पदको बहाली गर्दा गोपनीयताको शपथ खाने प्रचलन छ । तर, सूचनाको हकको अवधारणा भने पारदर्शिता र जवाफदेहितालाई प्रवद्र्धन गर्नुसँग सम्बन्धित छ । समयसँगसँगै अब देशको सुरक्षासँग सम्बन्धित केही संवेदनशील क्षति नपुग्ने गरी शपथको परम्परालाई पनि परिमार्जित गर्दै गोपनीयताबाट पारदर्शितातर्फ रूपान्तरण गर्नु आवश्यक देखिन्छ ।
नागरिकको सूचनाको हकबारे महिलालाई जानकारी गराई यसको प्रयोगलाई व्यापक बनाउन यो सामग्री प्रकाशित गरिएको हो । मूलतः विपद्को अवस्थापछिको पुनर्निर्माण, असुरक्षित वैदेशिक रोजगारी र चेलिबेटी बेचबिखनविरुद्ध सूचनाको हकलाई संयन्त्रका रूपमा प्रयोग गर्नका लागि निर्माण गरिने महिलाको समूहलाई दिने तालिमका लागि यो निर्देशिका निर्माण गरिएको हो। सूचनाको अधिकारको विषयलाई व्यापकता दिन, महिलालाई सुसूचित हुनका निम्ति अभिप्रेरित गर्न तथा सूचना माग्ने संस्कृतिको विकास गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले महिलालाई लक्षित गरी निर्माण गरिएको यो सामग्रीले सूचनाको हकको प्रयोगबारे नागरिक तहमा सचेतना जगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने छ ।
DOWNLOAD FULL GUIDELINE
Publications
News and Events
Articles Published on Online Portals
प्रधानमन्त्रीलाई
Published On:घटना र विचार
राष्ट्रपति कार्या
Published On:घटना र विचार
सम्बन्धविच्छेदमा
Published On:घटना र विचार
women in media
Published On:wow Magazine
‘तेल भिसा’ लाग्
Published On:घटना र विचार-बबिता बस्नेत