राजनीति क्षेत्रमा कलम चलाउँदा राजनीति बुझ्न आवश्यक छ : नगरप्रमुख ढकाल

  1. Home
  2. राजनीति क्षेत्रमा कलम चलाउँदा राजनीति बुझ्न आवश्यक छ : नगरप्रमुख ढकाल

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका नगरप्रमुख मोहनमाया ढकालले पत्रकारहरूले रिपोर्टिङ गर्दा अनुसन्धान, तथ्यगत रिपोर्टिङ र सूचनाको सत्यापनमा आधारित रहेर समाचार संकलन गर्नु पर्ने बताएकी छन् ।

बुधवार वीरेन्द्रनगर सुर्खेतमा मिडिया एडभोकेशी ग्रुप (म्याग) काठमाण्डौंले आयोजना गरेको महिला पत्रकारहरूको लागि राजनीति र वैदेशिक मामिला रिपोर्टिङ सम्बन्धी क्षमता अभिवृद्धि तालिममा नगरप्रमुख ढकालले राजनीति समाचार संकलन, स्रोतको पहिचान, तिनको प्रयोग, तथ्य जाँच, र विश्लेषणात्मक लेखनमा ध्यान दिनु पर्ने बताएकी हुन् ।

उनले राजनीति र वैदेशिक मामिलामा महिला पत्रकारहरूको ज्ञान वृद्धि हुन एकदमै धेरै आवश्यक रहेको बताइन् ।

राजनीति क्षेत्रमा कलम चलाउँदा राजनीति बुझ्न अत्यन्तै आवश्यक छ उनले भनिन, ‘राजनीति जटिल र बहु आयामिक क्षेत्र हो, जसमा कानून, नीति निर्माण, विचारधारा, शक्तिको संरचना, र सामाजिक तथा आर्थिक मुद्दाहरूको अन्तरसम्बन्ध हुन्छ । यदि एक पत्रकारले राजनीति राम्रोसँग नबुझी रिपोर्टिङ गर्छ भने, तथ्यहरूको गलत व्याख्या गर्न सकिन्छ, पाठकलाई भ्रामक जानकारी दिन सकिन्छ, र अन्ततः सार्वजनिक बहसलाई प्रभावित पार्न सकिन्छ । तसर्थ बुझेर मात्रै कलम चलाउँदा समाचार प्रभावकारी हुन्छ ।’
देशको राजनीतिक प्रणाली, निर्वाचन प्रक्रिया, नीति निर्माण, र कानूनी संरचनाको अध्ययन गर्न जरुरी रहेको उनका भनाइ छ ।

यस्तै, क्षमता अभिवृद्धि तालिममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. महेन्द्र विष्टले राजनीति महत्त्वपूर्ण रिपोर्टिङको क्षेत्र भए तापनि महिलाहरूको सहभागिता तुलनात्मक रूपमा कम रहेको जानकारी दिए ।

महिलाहरू राजनीतिक रिपोर्टिङमा नआउने, आए पनि टिक्न गाह्रो हुने परिस्थिति सिर्जना भएको उनले बताए ।

साथै, मिडिया एडभोकेशी ग्रुप (म्याग) कार्यकारी निर्देशक वविता बस्नेतले मूलधारका मिडियामा महिलाको सहभागिता अझै पनि सीमित रहेको जानकारी दिइन्।

विशेष गरी राजनीति जस्तो महत्त्वपूर्ण बीटमा राजनीतिक रिपोर्टिङमा महिलाहरूको उपस्थिति अत्यन्त न्यून हुनु दुर्भाग्यपूर्ण हो उनले भनिन्, ‘यसले मिडियामा विविधता र सन्तुलित दृष्टिकोणको अभाव सिर्जना गर्छ । महिला पत्रकारहरूलाई यो क्षेत्रमा अगाडि बढ्न प्रोत्साहन गर्नुपर्छ, उनीहरूलाई समान अवसर, प्रशिक्षण, र सुरक्षित कार्य वातावरण प्रदान गर्न अत्यावश्यक छ । महिलाहरूको सहभागिता बढ्न सकेमा राजनीतिक रिपोर्टिङ थप समावेशी र सन्तुलित हुने निश्चित छ।

https://www.nepalpress.com/2024/09/19/512513/

Any Inquiries
If you have any inquiry, please contact our Information Officer
Name :
Ms.Rasana Dhakal
Contact No: 9851135484
Email: [email protected]