काठमाडाै । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा प्रविधिबाट बढ्दै गएको लैंगिक हिंसाविरुद्ध मौनता चिर्न आज ‘म बोल्छु’ विषयक विशेष कार्यक्रमको आयोजना भएकाे छ। मिडिया एड्भोकेसी ग्रुपले आयोजना गरेको उक्त कार्यक्रमले पछिल्लो वर्षहरूमा डिजिटल माध्यमबाट हुने हिंसा तीव्र बन्दै गएको भन्दै पीडितका अनुभव सार्वजनिक गर्न र कानुनी उपचारसँग जोडिन आवश्यक रहेको निष्कर्ष निकालेकाे छ ।
कार्यक्रमका वक्ताहरूले सामाजिक दबाब, डर र कानुनी प्रक्रियाबारे अपर्याप्त जानकारीका कारण धेरैजसो पीडित लामो समयसम्म मौन बस्न बाध्य हुने अवस्था बदल्नुपर्ने उल्लेख आैंल्याए । डिजिटल पहुँच विस्तारसँगै अनलाइन दुरुपयोगका नयाँ रूपहरू देखिन थालेको उल्लेख गरेका छन् । चरित्रहत्या, डिपफेक पोर्नोग्राफी, अनधिकृत तस्बिर–भिडियो सार्वजनिक गर्ने, साइबरस्टकिङ, धम्की, ट्रोलिङजस्ता अपराधहरूका कारण महिला मात्र नभई पुरुष, किशोर-किशोरी तथा लैंगिक-अल्पसंख्यक समुदाय पनि उच्च जोखिममा परेको तथ्य कार्यक्रममार्फत उजागर गरिएको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले समस्याको पहिचान हुँदा पनि नबोल्ने, उजुरी नदिने प्रवृत्तिलाई डिजिटल हिंसा रोक्नको प्रमुख अवरोध भएको बताउँदै विद्यालयदेखि घरपरिवार र समुदाय सबै तहमा डिजिटल साक्षरता अनिवार्य रूपमा विस्तार गर्नुपर्नेमा विशेष जोड थियो । त्यस्तै डिजिटल हिंसाको सम्भावना महसुस भएको समयदेिख नै पीडितले प्रमाण सुरक्षित राख्नुपर्नेको महत्त्वबारे पनि विस्तृत जानकारी दिइएकाे थियाे । स्क्रिनसट लिनु, सम्बन्धित लिङ्क सुरक्षित राख्नु, साइबर ब्यूरोसँग सम्पर्क गर्नु वा अनलाइन पोर्टलमार्फत उजुरी दर्ता गर्नुजस्ता तत्कालीन कदम अत्यावश्यक भएको धारणा धेरैकाे थियाे ।
कार्यक्रम सहजीकरण गर्दै म्यागकी संस्थापक तथा कार्यकारी निर्देशक, वरिष्ठ पत्रकार बबिता बस्नेतले प्रविधिमा आधारित लैंगिक हिंसाले महिलासहित किशोरी, तेस्रोलिंगी तथा अन्य लैंगिक-अल्पसंख्यक समुदायहरूलाई पनि तीव्र रूपमा असर गरिरहेको बताइन् । बस्नेतले “स्पष्ट, निर्भीक र प्रभावशाली ढंगले बोल्नुस्-सुरक्षा सुनिश्चित गर्नुस्” भन्ने सन्देश प्रवाह गरिन् । ‘म बोल्छु’ श्रृंखला अन्तर्गत आजको कार्यक्रममा खिमा रिजाल, सुहाना थापा मगर,गायक प्रकाश सपुत सहितका अन्य वक्ता र सहभागीहरूले आफूले भोगेका अनुभवहरू खुलस्त रूपमा साझा गर्दै डिजिटल हिंसाविरुद्ध सामूहिक प्रतिरोधका लागि ऐक्यबद्धता जनाएका थिए। कार्यक्रम संस्थाकी अध्यक्ष पत्रकार अनिता विन्दुको अध्यक्षतामा सम्पन्न भएको थियो ।
https://newsdainik.com/183826/news-from-nepal.html