पोखरा । मिडिया एड्भोकेसी ग्रुप (म्याग) आयोजनामा पत्रकारलाई पत्रकारितासम्बन्धी तालिम दिइएको छ । पोखरामा आइतबार र सोमबार चलेको तालिममा विभिन्न मिडियामा कार्यरत २० जना पत्रकारले भाग लिएका थिए ।
म्यागका प्रशिक्षक उमेश पोखरेल र दि हिमालयन टाइम्स्का सम्पादक राजन पोखरेलले तालिममा सहजीकरण गरेका हुन् ।
म्यागका प्रशिक्षक उमेश पोखरेलले लिङ्ग र लैंगिकता, मिडियामा लैंगिक समावेशीकरण, पीडितकेन्द्रित रिपोर्टिङ तथा अर्का प्रशिक्षक राजन पोखरेलले समाचार कक्षमा महिला समावेशीकरण, गलत तथा मिथ्या सूचनाबाट बच्ने तरिका, तथ्यजाँच लगायतबारे प्रशिक्षण दिए ।
सूचना प्रविधिको बढ्दो पहुँचसँगै सामाजिक सञ्जालमा समेत विभिन्न प्रकारका भ्रामक सूचनाको बाढी आउने गरेकामा त्यसबाट जोगिन यसप्रकारका तालिमले लाभ मिल्ने सहभागीले बताए । साथै, मिडियामा पुरुषलाई जति स्रोतको रुपमा प्रयोग गरिन्छ, महिलालाई कम प्रयोग गरिनेमा आगामी दिनमा विशेष ध्यान दिने विश्वास लिए ।