काठमाडौँ, जेठ ७ गते । आर्टिफिसियल इन्टिलिजेन्स (एआई) ले हाम्रो जिज्ञासा अनुरुप विभिन्न विषयका तथ्य, सूचना र जानकारी हामीलाई दिइरहेको छ भन्ने आमबुझाइ छ । तर, ‘एआई’ ले पनि हाम्रा प्रश्नबाट नयाँ–नयाँ कुरा सिकिरहेको हुन्छ ।
प्रविधि सम्बन्धीका अध्येता निकेश बलामी भन्नुहुन्छ, “हामी जति धेरै एआईलाई प्रश्न गर्छौ त्यति नै धेरै एआईले सिकिरहेको हुन्छ । देशका विभिन्न विषय या राजनीति, खेलकुद, मनोरञ्जन या कुन विषय चाहिएको हो भन्ने कुरा प्रत्येक डाटाबाट एआई पावरफुल भइरहेको छ ।”
मिडिया एड्भोकेसी ग्रुप (म्याग) र ‘टेवा’ को आयोजनामा बिहीबार ललितपुरमा आयोजित ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) : अवधारणा, चुनौती र अवसरहरु’ विषयक कार्यक्रममा प्रशिक्षक समेत रहनुभएका बलामीले सो कुरा बताउनुभएको हो ।
हाल बजारमा ‘एआई’ को खर्बौँभन्दा बढीको बजार निर्माण भइसकेको छ । कतिपय देशमा बैठकसम्बन्धी मस्यौदा तयार, अनुवाद, कल सेन्टर, फाराम भर्ने लगायतका कामहरु एआईबाट हुने गरेका कारण त्यसक्षेत्रमा मानव जनशक्तिको रोजगार समेत गुम्ने अवस्थामा छ ।
एआईका विभिन्न प्रकारमध्ये ‘एआई एजेन्ट’ नामक एआईले मानव रोजगारको वास्तविक प्रतिस्थापन गर्दै आएको छ । बढ्दो एआईको प्रयोगसँगै नक्कली भिडियो निर्माण, गलत सूचना, एआई पूर्वागूह हुने लगायतका विकृति पनि बढ्दै गएको उहाँको भनाइ छ ।
म्यागका अध्यक्ष अनिता बिन्दुले एआईको अवसरलाई सदुपयोग गर्न सकिरहेको छ या छैन ? यसका चुनौती के के छन् ? भन्ने जस्ता विषय व्यवस्थापनका लागि सीप सिक्न जरुरी रहेको बताउनुभयो ।
हाल लेखन र अनुसन्धानमा विशेषगरी गुगल जिमिनी, च्याटजिपीटी, गुगल ट्रान्सलेसन/डीप एप, क्लड, गुगल नोटबुक एल. एम. प्रयोग हुँदै आएका छन् । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरीका महिला कर्मचारी, महिला राजनीतिकर्मी, विभिन्न पेसा तथा व्यवसायमा सङ्लग्न व्यक्तिहरु, पत्रकार सहभागी थिए ।